
१० भदौ, काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा। रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।
मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भएको हो ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।