काठमाडौं – नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

यस्तै एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलाे पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय