
९ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट व्यवसायी चन्द्र ढकालले राजीनामा दिएका छन् । उद्योग वाणिज्य महासंघका तर्फबाट ढकालको सट्टा अरुलाई नै धितोपत्र बोर्ड संचालक समितिमा पठाउने तयारी भएको छ । ढकालले महासंघमा आफू धितोपत्र बोर्डको संचालक समिति सदस्य नरहने जानकारी गराएका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकाल पनि पछिल्लो समय सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदको विवादमा मुछिँदै आएका छन् । बैंकको अध्यक्ष नै नियामक निकाय धितोपत्र बोर्डमा संचालक रहँदा स्वार्थ बाझिने भएकाले ढकालको ठाउँमा अरु नै प्रतिनिधी पठाउने तयारी रहेको महासंघका एक सदस्यले बताए । महासंघका तर्फबाट धितोपत्र बोर्डको संचालक समितिमा एक जना प्रतिनिधि रहने व्यवस्था छ। सामान्यतः महासंघको उपाध्यक्ष नै संचालक समितिमा रहने भएकाले ढकाल बोर्डको संचालक समितिमा रहँदै आएका हुन्
यता धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने उद्योग वाणिज्य महासंघका तर्फबाट एक जना बोर्डको संचालक समितिमा रहने भएकाले महासंघले जो कोहीलाई प्रतिनिधित्व गराउन सक्ने स्पष्ट पारेका छन् ।
धितोपत्र बोर्ड संचालक समितिमा ७ जना सदस्य छन् । अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, कानून मन्त्रालय, चार्टड एकाउन्टेन्ट संस्थाबाट एक–एक जनाले संचालक समितिमा प्रतिनिधित्व गर्छन् । त्यस्तै एक जना विज्ञको रुपमा संचालक समितिमा रहने व्यवस्था छ ।