३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । आज विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।

यस्तै अध्यक्ष प्रचण्डले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताउनु भएको छ । अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी उहाको छ । ओली सरकारले ल्याएको अध्यादेशको उद्देश्य लोकतन्त्र र परिवर्तनका उपलब्धी, संविधानलाई संकटमा पार्नका लागि ल्याएको उहाँको भनाइ थियो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुले मिलेर पार्टी फुटाउने व्यवस्था अध्यादेशमा राखिएपछि विरोध भइरहेको छ । बिहीबार सर्वोच्च अदालतमा अध्यादेशविरुद्ध ५ वटा रिट निवेदन पेस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय