
काठमाडौं २ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरूले विद्रोह गरेको बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले ओलीको नाम नलिईकन कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनुपरेको बताउनु भएको हो ।
सहिद रामवृक्ष यादवको २७औँ स्मृति दिवसको अवसर पारेर आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले आफैँभित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता–कार्यकर्तालाई आह्वान पनि गर्नुभएको छ ।
नयाँ सन्दर्भमा कम्युनिस्ट क्रान्तिहरूलाई एकताबद्ध गर्दै लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनुपर्ने अवस्था आएकाले पार्टीले सोहीअनुसारको बाटो लिएर अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।