
श्रावण ३, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपालको समूह छुट्टै छलफलमा जुटेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक जारी रहेकै बेला नेपाल पक्षले आन्तरिक छलफल सुरु गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदमा विश्वासको मत लिँदै छन् । देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे सामूहिक निर्णय गर्न नेपालपक्ष छलफलमा जुटेको एक नेताले जानकारी दिए । उनका अनुसार देउवालाई मत दिन वा नदिने भन्नेमा नेपालसमूहमा पनि विवाद देखिएको छ ।
नेपाल पक्षबाट यसअघि विवाद समाधान कार्यदलमा रहेका सदस्यहरूले देउवाले अचानक विश्वासको मत लिने भनी निर्णय गरेको प्रति आशंका व्यक्त गरेका छन्। पार्टी एकताका लागि प्रयत्न भइरहेका बेला यस्तो निर्णय गरेर देउवाले एमाले विभाजन गर्न खोजेको उनीहरूको आरोप छ । कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न आइतबार उनको कोटेश्वरस्थित निवास पुगेका थिए ।
यसअघि शुक्रबार बसेको ओलीपक्षीय स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही बैठकले पार्टी विवाद समाधानका लागि कार्यदलले गरेको दश बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो । त्यसपछि पनि दुवै पक्षका दोस्रो तहका नेताहरूले भने एकताका लागि कोसिस जारी राखेका छन् ।
यसैबीच ओली पक्षका कार्यदल सदस्य शंकर पोखरेलले ‘नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गएको’ बताएका छन् । आइतबार बिहान नेपाललाई भेटेर फर्किएलगत्तै पोखरेलले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् ।