
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् ।
देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीवीकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा छ ।
बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
नेकपा क्रान्तिकारी माओवादीले संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालेको छ । महासचिव मोहन वैद्य ‘किरण’को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा महासचिव किरणले अहिले विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको दिशा सम्बन्धी विषयमा आधारित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रतिवेदनलाई परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरेको छ ।
‘कम्युनिस्ट नामधारी डबल नेकपाभित्रको अन्तरकलह, दुई–दुई पटकको संसद् विघटन तथा पुनर्स्थापना, अदालतको परमादेशद्वारा पार्टीको विखण्डन तथा देउवा गठबन्धन सरकारको निर्माण, आकाङ्क्षी धेरै भएर मन्त्रीहरू नियुक्त गर्न नसकेको स्थिति र गठबन्धनभित्र बढ्दै गएको कचिङ्गल आदि नेपालमा संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालिएको छ,’ उक्त प्रतिवेदनमा भनिएको छ ।
उक्त प्रतिवेदनमा महँगी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिसनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका आजीविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको कुरा औँल्याउँदै ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरै उदाङ्गो बन्न गएको र शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्या हल हुन नसक्ने कुराको ठोकुवा गरिएको छ ।
पार्टीले पहिल्यैदेखि उठाउँदै आएको पहिचान सहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुनः सशक्त रूपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरूपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, केन्द्रीय समितिको बैठकमा भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको सम्पूर्ण भूभाग फिर्ता, एमसीसीको विरोध, दार्चुला तुइन काण्डको विरोध लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई लिएर सङ्घर्षको विकास गर्न जोड दिइएको छ । साथै, अफगानिस्तानमा अमेरिका तथा त्यसको सैन्य गठबन्धन नेटो पराजित भएको कुरा पनि उल्लेख गरिएको छ ।