श्रावण ३२, काठमाडौँ । विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै उनले रिट निवेदन दर्ता गराएका हुन् ।

आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् । मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

शाक्यले आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गरेका छन् । घिसिङलाई प्राधिकरणमा नियुक्त गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको थियो । तर उक्त पदमा आफ्नो इच्छा नभएको शाक्यले रिट निवेदनमा लेखेका छन् । उनले उक्त पदमा कानुन प्रतिकूल सरुवा गरिएको लेखेका छन् ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई राजीनामा गर्न दबाब दिइएको पनि शाक्ले रिट निवेदनमा लेखेका छन् ।शाक्यको रिटमा बुधबार पेसी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय