डिल्ली बस्नेत ‘संगीत’
राष्ट्रियता र राजनिती एक अर्काका परिपुरक हुन् । राष्ट्रियताभित्र राजनिती हुनुपर्छ । राजनितीको चङ्गुलमा राष्ट्रियता हुनुहुँदैन । राजनिती र राष्ट्रियतालाई एकाकार गर्दै अगाडि बढ्नु पछिल्लो अवस्थामा एकदमै महत्वपूर्ण देखिन्छ । तैपनि, नेतृत्व तहमा आएको विचलनकै कारण नेपाली स्वाभीमान माथि प्रश्न चिन्ह लाग्दै गएको छ । स्वाभीमानमाथि आँच आउनु भनेको राष्ट्रियता संकटमा पर्नु हो । यद्यपि, नेपाल र नेपालीको भाग्य रेखा कोर्न धेरै सरकारहरु आए । धेरै आश्वासनका पोकाहरु पनि बाँडिए । धेरै सपनाका खेतीहरु गरिए । तर, सपना विपना हुन नपाउँदै विचमै तुहिनु पर्ने बाध्यात्मक अवस्था आउला भन्ने कुरा नेपाली जनताले कहिल्यै सोचेनन् ।

सपना त्यो हो जो हिड्दा हिड्दै देखिन्छ । सपना त्यो हो जो आफ्नै आँखा अगाडि पूरा गर्न सकिन्छ । अनि सपना त्यो हो जसलाई देख्न कहिल्यै सुत्नु पर्दैन ।

तर, सुतेर सपना देख्न जानेका नेतृत्व वर्गको ऐयासी प्रवृतिले कहिल्यै पनि सुनौलो विहान आउन सकेन । सदैव नेपाली आकासमा कालो रात छाइरह्यो । नेपाली जनताको भविष्यमाथि प्रश्न चिन्ह लाग्दै गयो । प्रश्नै प्रश्नले घेरिएको छ नेपाली समाज र त्यसको वर्तमान अवस्था । वर्तमानका तीखा धारहरुमा हिड्नु पर्ने नेपाली जनताको पछिल्लो अवस्थाले मूलुकको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेको देखिन्छ ।

यहाँ राष्ट्रियता ओझेलमा परेकै हो । र, ओझेलमा पारिएकै हो । २०४६ सालको जनआन्दोलनदेखि नै नेपालको राष्ट्रियतामाथि प्रश्न चिन्ह लाग्दै गएको छ । त्यस समयमा नेपालमा नाकावन्दी भयो । नेपाल सरकारले त्यतिवेला राष्ट्रियताको सम्बन्धमा आफ्नो अडान लिएकै हो । त्यही अडानका कारण नाकावन्दी लम्बियो । जे जसरी भए पनि नेपाल सरकारले आफ्ना जनताहरुलाई मर्न दिएन । अप्ठेरोमा पर्न दिएन । जहाजबाट बोकाएर भए पनि तेल र अन्यवस्तुको अभाव हुन दिएन । स्वाभीमान भएर नेपाली जनता बाँच्न पाएका थिए । त्यतिवेला हामीलाई नेपाली भएर बाँचेकोमा गर्व थियो ।

तर, पछिल्लो अवस्थामा त्यो स्वाभीमान कहाँ गयो ? स्वाभीमानका गीत गाउने मान्छेहरु कता गए ? बोलाइ र गराइको विच किन विभेदको राजनिती शुरु भयो ? प्रश्नै प्रश्नहरु तेर्सिएका छन् हाम्रो वरिपरि । संघियताको साँगुरो गल्लिबाट भ्रष्टाचार मौलाउँदै गएको छ । संघियताका संगीन सुइराहरुले देशलाई टुक्र्याउन खोज्दैछन् ।

केही बर्ष अगाडि भारतले नाकावन्दी गर्दा नेपालमा राष्ट्रियताको वहस नचलेको होइन । तर, त्यो वहसले कुनै सार्थकता पाएन । हामी आफै असक्षम भयौँ भने अरुले हामीमाथि हेपाहा दृष्टिकोण राख्ने नै भए । हामी कहिलसम्म परनिर्भर भइरहने ? कतिन्जेल हामी विदेशी राष्ट्रको मुख ताकिरहने ? जव विरामी हुँदा एउटा सिटामोलसम्म पनि पाइदैन भने हामी कतिसम्म परनिर्भर छौँ भन्ने कुरा देखाउँछ नाका वन्दीका कारण हाम्रो घरको चुलोमा आगो वल्न छोड्छ । मुखमा मार पर्दैन । यस्तोवेलामा जतिसुकै राष्ट्रियताको कुरा गरे पनि हाम्रो पेट भरिदैन । जवसम्म हामी आफूमा आत्मनिर्भर हुनसक्दैनौँ तवसम्म छिमेकी देशले हामीमाथि रजाइ गर्न खोजिरहन्छ । हामी आफूलाई बनाउन चाहाँदैनौँ अरुलाई खबरदारी गरेर हामी कहिल्यै पनि सक्षम बन्न सक्दैनौँ । यही हाम्रो गरिवी मानसिकताकै कारण देशी विदेशी शक्तिहरुले हामीलाई गुमराहमा पारिरहेका छन् ।

सायद, त्यही भावनालाई समातेर होला ओली सरकारले राष्ट्रीयताको दुहाइ दिएर सरकारमा गयो । तैपनि, देश र जनताको वास्तविक मर्म र व्यथालाई आत्मसात गर्न सकेन । यहाँ राष्ट्रियता चुनाव केन्द्रित नारा वनेको देखिन्छ । जनता झुक्याउ र राज गर भन्ने मूलमन्त्र नेतृत्व वर्गले रटेको देखिन्छ । आखिर कतिन्जेल चल्न सक्छ यसरी ? राष्ट्रीयताको राग अलाप्दैमा राष्ट्रवादी भइदैन ।

राष्ट्रियता कुनै जात, धर्म, सम्प्रदाय र वर्गसंग जोडिएको पनि हुँदैन । तैपनि, थरिथरिका चेहराहरु पछिल्लो अवस्थामा राष्ट्रियताको नारा लगाउँदै सडकमा देखिएका छन् । सडक तातेको छ यतिवेला । सडकले राष्ट्रियताको प्रश्नचिन्ह हटाउँदैन । सडक समस्याको समाधान पनि होइन । वास्तवमा राष्ट्रियता सडक र सदनको सवाल होइन । यो सोँचको सवाल हो । हामी आफूलाई कसरी सोचिरहेका छौँ ? हाम्रो धरातल के हो ? हामी कतिमाथि उड्न खोजिरहेका छौँ ? ख्याल गर्नुहोस्, उड्दा त्यतिमाथिसम्म उड्नुहोस् जहाँ देखि तपाई आफ्नो धरातल प्रष्ट देख्नुहुन्छ ।

आफ्नो धरातल विर्सने गरी उड्नु भयो भने पक्कै पनि तपाई हराउनु हुनेछ । वेहोसमा कराउनु हुनेछ । अहिले पछिल्लो अवस्थामा त्यही वेहोसीका नाराहरु लागिरहेका छन् । वेहोसीमा हराउनु भनेकै आफ्नो अस्तित्व संकटमा पर्नु होइन र ?
अस्तु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय