श्रावण २९ काठमाडौँ । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद दलबहादुर रानाले सरकारले एक महिनामा २५ जना मन्त्री छान्न पनि नसकेको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकारले सुकुम्बासीलाई लालपुर्जा दिने मनशाय नराखेको पनि उहाँले बताउनु भयो ।

सांसद दामोदर भण्डारीले दार्चुलामा तुइन तर्नेक्रममा बेपत्ता जयसिंह धामी प्रकरणको १५ दिन बितिसक्दा पनि सरकारले कूटनीतिक पहल र वार्ता नगरेको बताउनु भएको छ । सांसद दिल कुमारीले कोभिड संक्रमणका कारण बन्द भएको प्रदेश २ अर्न्तगतको नेपाल भारत सीमा खुल्ला गर्न माग गर्नुभएको छ ।

सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गर्नुभएको छ । उहाँले दार्चुला–तिङकर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजनाका कार्यान्वयन गर्नका लागि सरकारसँग माग गर्नुभएको छ ।

सांसद धर्मशिला चापागाईंले पूर्वप्रधानमन्त्री ओलीले जनयुद्धका घाइतेलाई उपचार गर्न आफ्नो पार्टी कार्यालयमा बोलाएको प्रतिटिप्पणी गर्दै ओलीसँगै जेल बसेका दुर्गा अधिकारी र मानबहादुर तामाङको अवस्थाबारे ओलीलाई प्रश्न गर्नुभएको छ ।

सांसद नारदमुनि रानाले स्वास्थ्य सामग्री सहयोगका निम्ति अमेरिकन सेनाहरु जिल्ला जिल्ला घुमिरहेको भन्दै यसबारे सरकार बेखबर रहेको बताउनु भएको छ ।

सांसद निरुदेवी पालले एमसिसी मान्य नहुने बताउनु भएको छ । उहाँले विकासका नाममा बाहृय शक्तिको हस्तक्षेप कुनै हालतमा सैहृय नहुने बताउनु भयो । सांसदहरुले आ–आफ्नो क्षेत्रको विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै छिट्टै सम्पन्न गराउनका लागि सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय