
काठमाडौं- अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठूलो भीडन्तमा तालिबानले कन्दाहार शहरलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ । त्यस्तै बेलायतले पनि आफ्ना नागरिकलाई मुलुक छाड्न सहयोग गर्नका लागि अस्थायीरुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी शहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरु सडकमा नै सुत्न बाध्य छन् ।
–एजेन्सीहरुको सहयोगमा