
२८ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ताबाट प्रतिपक्षमा पुगेको नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको नयाँ सरकार असंवैधानिक भएको बताएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका दलको समर्थनमा माओवादी संसदीय दलका नेता केसी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । तर एमालेले भने विशेष अधिवेशन बोलाउने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचराधीन रहेको अवस्थामा नयाँ सरकार गठन हुनुलाई असंवैधानिक भनेको हो ।
तर अप्राकृतिक गठबन्धनले संसदमा जबर्जस्ती अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गरिएको भन्दै एमाले सांसद वैजनाथ चौधरीले सरकार असंवैधानिक भएको बताए । अनेकौं प्रलोभनमा पारी एमालेकै सांसदलाई मन्त्री बनाएको भन्दै उनले सरकारलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । ‘नयाँ सरकारमा मन्त्री बनेका अजय शाही हृदयेश त्रिपाठी समूहबाट सूर्य चिन्हबाटै चुनाव लडेर जितेका एमालेका सांसद हुन् । उनी एमाले संसदीय दलका सदस्य समेत हुन् ।
यो सरकारले एमालेकै अर्का सांसद विमला वलीलाई पनि राज्यमन्त्री दिने प्रलोभन देखाएर माओवादी केन्द्रको कित्तामा लिएर गएको आरोप उनको छ । अनेकौं प्रलोभन देखाएर सत्तामा जानु र सत्ता टिकाउन खोज्नु यो सरकारको अनैतिक र आपराधिक कार्य भएको उनको टिप्पणी छ । यस्तो अनैतिक र आपराधिक मानसिकताबाट बनेको यो सरकार धेरै दिन टिक्न नसक्ने उनले बताए ।
यो सरकारले फुच्चे पार्टीका तीन÷तीन जना सांसदलाई मन्त्री बनाएको प्रति व्यंग्य गर्दै भने, ‘म ठोकुवाका साथ भन्छु । यो सरकारले ३० दिनभित्र विश्वासको मत कुनै हालतमा प्राप्त गर्न सक्दैन । त्यसैले यो सरकारले के गरिखान्छ ?’यदि सर्वोच्चमा विचराधीन रहेको मुद्दा आफूहरुको पक्षमा नआए सर्वोच्चको फैसला स्वीकार्य गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने परेको अवस्थामा सरकारको कामकारबाही अनुसार एमालेले व्यवहार गर्ने सांसद चौधरीले बताए ।