
२५ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले कम्युनिष्ट पार्टीमा अध्यक्षलाई पनि मनपरी बोल्ने छुट नहुने बताएका छन् । राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरुमाथि मनपरी आरोप लगाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
आज च्यासलमा बसेको स्थायी कमिटी बैठकमा गौतमले भने, ‘वरिष्ठ नेता माधवकुमार नेपालसँग राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष कमरेडले अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले यस्तो भन्न पाइन्छ ? पाइन्छ भने विधानमा व्यवस्था गर्नुप¥यो ।’ स्रोतका अनुसार बैठक शुरु हुनु अघिबाटै उपाध्यक्ष गौतम र ओली निकट नेताहरुबीच घोचपेच शुरु भएको थियो । अनौपचारिक छलफलकै क्रममा स्थायी कमिटीका पदेन सदस्य केशव बडालले राष्ट्रियसभामा गौतमले बोलेको प्रसंग निकालेपछि केहीबेर अवस्था असहज बन्यो ।
बैठक शुरु भएपछि पनि गौतमले फरक मत राखेका थिए । विशेषगरी पार्टी एकता बिथोलिने गरी अध्यक्ष ओलीले बोलेको विषय गौतमले उठाएका थिए । राजनीतिक मतभिन्नताकै कारण गम्भीर आरोप लगाइनुलाई ठीक मान्ने हो भने पार्टी विधान संशोधन गरिनुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीबाट पदच्यूत भएपछि बालुवाटार छाडेर बालकोट पुगेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार, देशद्रोही जस्ता आरोप लगाएका थिए । पार्टीमा एकता प्रयास तीव्र भएपछि उनले ७ साउनमा ‘बाटो बिराएका नेताहरुलाई आममाफी’ दिने घोषणा गरेका थिए । त्यसप्रति संकेत गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, ‘आममाफी दिने अध्यक्षका अधिकार हुन् भन्ने थपौं ।’
तर कुनै पनि कम्युनिष्ट पार्टीमा यस्ता कुरा उल्लेख नहुने र आरोप लगाउन पनि नपाइने गौतमले बताएका छन् । उनले ‘पार्टीमा कसैले गल्ती ग¥यो भने राजनीतिक कारबाही हने बताएका छन् ।