२५ साउन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज धितोपत्र मापक नेप्से परिसूचक १.४७ बिन्दुले बढेर ३ हजार १०९.६० बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने गिरावट आएको छ । यो दिन सेन्सेटिभ परिसूचक २.०६ अंकले घटेर ५७५.९४ बिन्दुमा झरेको हो ।

आइतबार नेप्से झिनो अङ्कले मात्रै सुधार भएको शेयर बजारमा आज पनि ०.०५ प्रतिशतको मात्रै सुधार देखिएको हो । आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज २२४ ओटा कम्पनीको १ लाख २८ हजार ९५९ पटकको व्यापारमा २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ ओटा समूहको परिसूचकबाहेक सबै समूहको परिसूचकमा रातो पोतिएको छ । यो दिन वित्त र हाइड्रो पावर समूहमा लगानीकर्ताहरूको आकर्षण बढेको हो ।

वित्त समूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशतले बढेको बजारमा हाइड्रो पावर समूहको परिसूचक पनि ३.३५ प्रतिशतले बढेको छ । यसैगरी निर्जीबन बीमा समूहको परिसूचक ०.२७ प्रतिशत, अन्य समूहको ०.५५ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.२७ प्रतिशतले बृद्धि भएको छ । त्यस्तैै, आज व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । सो समूहको परिसूचक ०७ प्रतिशतले घटेको बजारमा लगानी समूहको परिसूचक १.०६ प्रतिशत र विकास बैंक समूहको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।

यसैगरी बैंकिङ समूहको परिसूचक ०.५७ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८३ प्रतिशत, लघुवित्त समूहको १ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.३७ प्रतिशतले घटेको छ । आज १० ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बृद्धि भएको छ भने ६ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेका अनुसार आज आइसिएफसि फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रो पावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको छ ।

त्यस्तै, ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि सर्किट लेभलमा अर्थात क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ । यसैगरी हिमालयन उर्जा विकास कम्पनीको लगानीकर्ताहरुले ९.६७ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताहरुले ९.२३ प्रतिशतले कमाएका छन् । बढेको बजारमा आज १०.२५ प्रतिशत एसबिएल डिवेन्चर २०८३ का लगानीकर्ताहरुले ३.९६ प्रतिशत र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिवेन्चर २०८५ का लगानीकर्ताहरुले ३.९२ प्रतिशतले गुमाएका छन् । यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ३.८९ प्रतिशत र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ ।

माग बढेसँगै कारोबार पनि बढेपछि आज अधिकांश हाइड्रो पावर कम्पनीको शेयर कारोबार रकम उच्च छ । यो दिन पूँजीको आधारमा सवैभन्दा बढी अरुण भ्याली हाइड्रो पावरको ६७ करोड ४८ लाख ५५ हजार रुपैयाँ, माथिल्लो तामाकोशीको ५८ करोड ९९ लाख ३९ हजार रुपैयाँ र अपि पावर कम्पनीको ५३ करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय