
काठमाडौँ — नाम आशिक झा, उमेर १८ वर्ष । परीक्षा रोल नम्बर २०२४९, र्याङ्क १ ।
चिकित्सा शिक्षा आयोगले बिहीबार राति सार्वजनिक गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजाको शीर्षस्थानमा यही लेखिएको छ । करिब ११ हजार प्रतिस्पर्धीलाई उछिनेर आशिक सर्वोत्कृष्ट भए ।
शुक्रबार त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा आशिक झालाई सम्मान गरिँदै ।
आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट २०७४ सालको परीक्षामा ३ दशमलव ७ जीपीए लिएर एसईई उत्तीर्ण गरेका थिए । उनले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे । गत वर्षको परीक्षामा ३ दशमलव ७३ जीपीए लिएर कक्षा १२ उत्तीर्ण गरे । लगत्तै एमबीबीएसको तयारी गरे, पहिलो प्रयासमै सर्वोत्कृष्ट बने ।
एसईई जनकपुर तथा कक्षा ११ र १२ काठमाडौंको सामुदायिक विद्यालयमा पढेका आशिकको सफलताले समाज रोमाञ्चित छ । तर सामुदायिक विद्यालयको शिक्षाबारे जिज्ञासा राख्दा यी किशोरसँगको संवाद एकाएक गम्भीर बन्यो ।
तपाईं यस्तो मेधावी विद्यार्थी, पढाउने विद्यालय सामुदायिक नै भए पनि पढाइ त निकै राम्रो थियो होला है रु
धनुषा भनेको प्रदेश २ भन्ने तपाईंलाई थाहै होला । बाँकी म के भनौं र रु
किन, विद्यालयमा शिक्षक हुँदैनन्
शिक्षक भए विद्यार्थी हुँदैनन्, विद्यार्थी भए शिक्षक हुँदैनन् । जहाँ शिक्षक र विद्यार्थी हुन्छन्, त्यहाँ पढाइ हुँदैन । मैले मेरो स्कुलका विषयमा मात्र कुरा गरेको होइन, तपाईं प्रेसको मान्छेलाई थाहै होला, त्यतातिर त्यस्तै छ ।
भएका शिक्षकले पनि किन पढाउँदैनन् रु
ट्युसन पढाउँछन् नि । कक्षामा चाहिँ जाँगर गरेर पढाउँदैनन् ।
अनि विद्यार्थी कसरी पास हुन्छन्
खुलेआम चिट चोर्न दिन्छन् । गार्डले परीक्षामा ब्ल्याकबोर्डमा लेखिदिन्छन्, विद्यार्थीले सार्छन् अनि पास भइहाल्छन् ।
ट्युसन पढ्नेका लागि लेखिदिने होला नि बोर्डमा रु
हो । तर, अगाडि बोर्डमा लेखिदिएपछि सबैले सार्छन् । बोर्डमा लेखेको पनि राम्ररी सार्न नसक्नेचाहिँ फेल हुन्छन् ।
अनि तपाईंले एसईईपछि जनकपुर किन छाड्नुभयो रु ११ र १२ पढ्न काठमाडौं किन आउनुभयो रु
जहाँ परीक्षा पास गर्न पढ्नुपर्दैन, त्यो ठाउँमा पढेर के गर्ने रु खासमा हाम्रो आर्थिक अवस्थाले काठमाडौंमा पढ्न पुग्दैन । तर, त्यहाँको अवस्थाले हामीलाई यता धकेल्यो ।
यस्तो बेथिति अनुगमन गर्न कोही आउँदैन रु
आए, देखे भने पनि चिन्ता कसलाई छ र रु हाम्रो देशको, त्यो पनि प्रदेश २ को शिक्षा कस्तो छ भनेर सरकारलाई थाहा छैन र रु
अब आशिकलाई प्रतिप्रश्न गर्ने ठाउँ नै भएन । सबैलाको गेरुवाही खरिहानी गाउँमा जन्मिएका उनी पवननारायण झा र रिङ्कुकुमारी मिश्रका दुई छोरामध्ये कान्छा हुन् । बुबा सरकारी विद्यालयका अस्थायी शिक्षक थिए, चार वर्षअघि विद्यालयले बिदा गरेपछि किसानी गर्छन् । आमा गृहिणी हुन् । काठमाडौं आएपछि कक्षा ११ पढ्न उनले सेन्ट जेभियर्स कलेजमा नाम निकालेका थिए तर भर्ना हुन सकेनन् ।
नाम निकालेर पनि भर्ना किन भएन
मैले ए–लेभल पढ्न चाहेको थिएँ । तर ‘फी’ प्लस–२ का लागि १ लाख ८० हजार र ए–लेभललाई ३ लाख रुपैयाँ भनियो । अझ यो बच्चाको पढाइमा ५ लाख खर्च गर्न सक्छु भनेर अभिभावकले ‘सोर्स’ देखाउनुपर्ने रहेछ, तत्कालै । हामीले जुटाउन सकेनौं । नियम यस्तै छ भाइ भनेर पठाए ।
त्यसपछि विश्व निकेतन कसरी पुग्नुभयो
विश्व निकेतन राम्रो विद्यालय हो भन्ने दाइले सुन्नुभएको रहेछ । त्यहाँ प्रयास गर्यौं । वर्षको १५ हजार लाग्ने रहेछ । जम्माजम्मी २५ हजारमा दुई वर्षको पढाइ भयो । त्योभन्दा बढी खर्च गर्ने क्षमता हाम्रो होइन ।
काठमाडौंमा बसेर पढ्दा खर्च त भइहाल्छ नि ।
हुन्छ नि, दुई भाइ बस्छौं । महिनाको झन्डै १० हजार लाग्छ ।
१० हजारले पुग्छ
पुर्याउनुपर्यो नि । खर्च कम होस् भनेर त कीर्तिपुरमाथि भत्केको पाटी बस्छौं । तैपनि भाडा चार हजार छ । बाँकी ६ हजारले किताब, कापी किन्छौं, खाना खान्छौं । खाजाचाहिँ खाँदैनौं । जे होस्, पैसाले पुगेको छ ।
‘खाजा खाँदैनौं तर पैसाले पुगेको छ’ भन्ने उनको वाक्य साँच्चै असाधारण सुनियो । आयोगले पहिलोपटक चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लिएको हो । यही साउन ९ देखि १३ सम्म एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सीएमआईटी र बीअप्टोमेट्री विषयमा प्रवेश परीक्षा भएको थियो । यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो ।
एमबीबीएसको नतिजाअनुसार २ सय पूर्णाङ्कमा आशिकले १ सय ८६ अंक प्राप्त गरेका छन् । अन्य प्रतिपर्स्धीको स्कोर १ सय ८३ सम्म छ । उत्कृष्ट अंक हासिल गरेसँगै आशिकले चिकित्सा शिक्षा ९डाक्टरी० अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति सुनिश्चित गरेका छन् । अब उनले रोजेको मेडिकल कलेजमा पढ्न पाउनेछन् तैपनि जिज्ञासा उनीसँग राखियो ।
पढ्ने त अब महाराजगन्जमै होला है
नो डाउट ।
अब एमबीबीएसमै नाम निकालेर पढ्न थालेपछि खर्चको तनाव हुँदैन होला है रु
ट्युसन फि त अब लाग्दैन, ४०र४२ लाख त फ्रि भइहाल्यो । तर, छात्रवृत्ति नै पाए पनि पहिलो दुई वर्षसम्म होस्टेल पाइँदैन । बाहिर बसेपछि खर्च त लागिहाल्छ । अब किताब, कापीको खर्च बढ्ने होला । दाइले पनि होस्टेल पाउनुभएको छैन । दुई भाइ यहीँ बस्छौं ।
आशिकले पटकपटक नाम लिएका दाइ अम्बेश पनि बीएएमएस ९ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी० का विद्यार्थी हुन् । आईओएम महाराजगन्जबाटै नाम निकालेर अहिले कीर्तिपुरको कलेजमा पढ्दै छन् । ‘आर्थिक हैसियत भएन, त्यसैले भाइलाई सरकारी स्कुलमै पढायौं,’ अम्बेशले भने, ‘तर उत्कृष्ट विद्यार्थीबीच पनि भाइ आज सर्वोत्कृष्ट भयो, हामी निकै खुसी छौं ।’
भाइ पनि आफ्ना बुबाआमा र दाइप्रति कृतज्ञ सुनिन्छन् । ‘बुबाआमा र मेरो दाइ अम्बेशको माया र प्रेरणाले पढ्न सकेको हुँ, दाइकै सहयोगले आज एमबीबीएस पढ्ने ढोका खुलेको छ,’ उनी भन्छन् । छात्रवृत्तिमै नाम निस्कन्छ भन्नेमा आशिक ढुक्क थिए तर सर्वोत्कृष्ट नै हुने विषयमा उनले चिन्ता गरेका थिएनन् । ‘जसरी हुन्छ, एमबीबीएस पढ्छु भन्ने सोचेको थिएँ र मिहिनेत पनि गरेको हुँ,’ उनी भन्छन्, ‘तर टपर नै हुन्छु भन्ने लागेको थिएन । नतिजा आएपछि हर्षित छु ।’
सामुदायिक विद्यालयको विद्यार्थीले यति ठूलो उपलब्धि हासिल गरेकामा विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेल पनि दंग छन् । ‘आशिक अत्यन्तै सिर्जनशील र मिहिनेती विद्यार्थी हुन् । उनी दृढ आत्मविश्वास भएका विद्यार्थी हुन्,’ कँडेल भन्छन्, ‘अभिभावकले साथ र सरकारले सहयोग दिएमा सामुदायिक शैक्षिक संस्थाले धेरै गर्न सक्छन् । सामुदायिक शैक्षिक संस्थाप्रति राज्यलाई सकारात्मक हुन सिकायो भने आशिकको सफलता थप सार्थक हुनेछ ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ