श्रावण १९, काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाको बारेमा छानबिन गर्न सरकारले समिति गठन गरेको गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेपछि गृहमन्त्री खाँणले समिति गठन गरिएको बताएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहकायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको उनले जानकारी दिए

उक्त समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्ने गृहमन्त्रीले जानकारी दिएका छन् । दार्चुलाको महाकालीमा तुइन विस्थापन गर्नका लागि ४ झोलुंगे पुल निर्माण योजना जारी रहेको गृहमन्त्रीले बताएका छन् । सरकार ती पुल छिटो निर्माण र सञ्चालन गर्नका लागि प्रतिबद्ध रहेको उनले जानकारी दिए । खलंगा–तिंकर सडक निर्माणका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको तत्काल छानबिनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी स्थलमार्गमा गएको उनले बताए । भारतको पिथौरागढ जिल्लाका डीएमसँग दार्चुला प्रशासनले पत्राचार गरेको पनि उनले बताए । धामीको खोजी नेपाल र भारतका सुरक्षाकर्मीले महाकालीमा खोजिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय