
श्रावण १४ काठमाडौँ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा हेर्न नभ्याइने भएको छ । चारवटै रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको थियो ।
ती रिट निवेदनमाथि सुनुवाइका लागि हेर्न नभ्याइने सर्वोच्च अदालतले जानकारी दिएको छ । एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।
उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए ।
माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए ।