काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ।

बोर्डले देशभरका विद्यालयहरुलाई १४ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई मात्र परीक्षामा सामेल गराउन निर्देशन दिएको हो।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने जनाएका छन्।

‘कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख स्थानीय पञ्जिकाधिकारीको कार्यालयलाई उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधनसम्बन्धी कार्यमा सहजीकरणको व्यवस्था मिलाइदिनु अनुरोध छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

परीक्षा बोर्डले नाम, थर, जन्ममिति सच्याइएका विद्यार्थीको जन्मदर्तामा उल्लेख भएको विवरण इएमइएस प्रणालीमा कक्षा १ देखि कक्षा ७ सम्मको हकमा विद्यालयबाटै र कक्षा ८ का हकमा सम्बन्धित स्थानीय तहबाट सच्याउन सकिने व्यहोरा शिक्षा तथा मानवस्रोत विकास केन्द्रसँगको बैठकबाट निर्णय भएको जनाएको छ।

बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागको अनुरोधमा सरकारले २०८२ साउन १४ गते नाम, थर, उमेर वा अन्य विवरण सच्याउन सक्ने व्यवस्था गरेकाले विद्यार्थीको पनि उमेर सच्याउन सकिने बताएको छ।

परीक्षा बोर्डले २०८२ को एसईईमा सहभागी हुने विद्यार्थीको परीक्षा आवेदन फाराम र २०८३ को परीक्षाको सहभागी हुन कक्षा ९ मा रजिस्ट्रेसन फाराम दर्ता गरिरहेको छ।

शिक्षा नियमावलीमा ५ वर्ष उमेर पूरा भएकालाई कक्षा १ मा भर्ना र जुन सालको एसईईमा सहभागी हुने हो सोही सालको चैत मसान्तमा १४ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ।

शिक्षा मन्त्रालयले २०७८ मा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा मात्र उमेरहद लाग्ने भन्दै १४ वर्षे प्रावधान हटाउने निर्णय गरेको थियो। बोर्डले २०८० देखि १४ वर्षे उमेरहद लागू गर्ने निर्णय गरेपछि समस्या हुदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय