काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सत्यतथ्य पत्ता लगाउन ‘छानबिन समिति’ गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एकजना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ ।
घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् ।




