काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको जिकिर गरेका छन् ।

गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले आज प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।

उनले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गरे । उनले आफू निशानामा रहेको पनि थाहा पाएको बताएका छन् ।

‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त ? हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ र? समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ?’ ओलीले भने, ‘हामी नेपालीहरू देश जोगाउनु छ, देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यही अपराध भयो ।’

उनले देशलाई विकासको खाका तयार पारेर अघि बढेको र अशान्ति, सुव्यवस्था कायम गर्ने र हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको दाबी समेत गरेका छन् ।

‘मैले विकासको एउटा खाका कोरेर अघि बढाएँ, नेतृत्व गर्ने कुरामा अघि बढेँ । समाजमा अशान्ति, सुव्यवस्था कायम गर्न सबै हिंसाको वकालत गरिरहेका शक्तिहरूलाई हिंसा छोडाएर राष्ट्रिय एकताको मूल धारमा ल्याएँ । तैपनि मलाई प्रहारको निशाना बनाएर यो हिंसा मच्चाउनुपर्ने आवश्यक थिएन,’ उनले भने ।

२३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड लगायतका घटना जेनजीहरूले नगरेको ओलीले भने ।

‘जेनजीले यो गरेका थिएनन् । जेनजीको यस्तो निराधार, प्रतिशोधी कुरा होइन,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तिर इंकित गर्दै यसअघि कसकसले सिंहदरबार जलाउँछु भन्दै हिँडेको भन्ने आफूलाई थाहा भएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय