काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्।
केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यी विषय उल्लेख गरेका हुन्।
जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन, उनले भनेका छन्, विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्।
त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबैपक्ष लाग्नुपर्ने पनि बताएका छन्।
दाहालले पार्टी एकताका विषयमा पार्टीले ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।
यसक्रममा विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता छ, उनले भने।
प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन्।
यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौुं उनले भनेका छन्, क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रासामु रहेको छ।
समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डको भनाइ छ ।




